काठमाडौं। नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभुवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।
मास्टर्स इन स्पोर्ट्स अध्ययन गर्न वर्षमा २ जनाका दरले ५ वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन्।
एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्रमुख प्रा. पशुपति अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा त्रिभूवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. दुविनन्द ढकाल, एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।
छात्रवृत्तिका लागि ब्रिज इन्टरनेसनलका निर्देशक प्रज्ज्वल गिरीले प्रायोजन गरेको महासचिव कार्कीले बताए। महासचिव कार्कीले खेल क्षेत्रमा लाग्नेलाई पढाइसंगै खेलकुदलाई अगाडि बढाउन छात्रवृत्तिले थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि त्रिभूवन विश्वविद्यालय र ब्रिज इन्टरनेसनल परिवारप्रति धन्यवाद आभार व्यक्त गरे।
सोही अवसरमा एनएसएसएफले खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका संस्थापक प्रमुख प्रा.डा. रामकृष्ण महर्जन र महर्जनपछिका प्रमुख राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य गंगाबहादुर थापालाई पनि उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको थियो।