काठमाडाैं। भ्याली पब्लिक र रेडियन्ट पब्लिक १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–१० ले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा दृष्य गुरुङले ११ अंक योगदान गरिन्। प्रीतिका रसाइलीको १० अंक सहयोगमा रेडियन्टले स्वर्णिमलाई २३–२२ को साँघुरोअन्तरले हरायो।
सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र मार्वलस उपाधिका लागि भिड्ने भएका छन्। रेडियन्टले पुष्पसदनलाई ५८–५१ ले पाखा लगायो। रेडियन्टका नन्दन बस्नेतले २३ अंक जोडे। मार्वलसले सनसाइनमाथि ६२–३० को सहज जित दर्ता ग¥यो। मार्वलसका सिनेप शाहीले ३० स्कोर गरे।
जुनियर ब्वाइजमा इबीए र एन्जल्स हार्ट फाइनलमा पुगे। इबीएले ज्ञान निकेतनको चुनौती ३७–२१ ले पन्छायो। इबीएका प्रसिक श्रेष्ठले २० अंक जोडे। एन्जल्स हार्टले आयोजक ग्रिनफिल्डलाई २६–१० ले निराश बनायो। एन्जल्स हार्टका अविरल सापकोटाले ११ अंक बटुले। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।