काठमाडौं भदौ ६ गते । मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको सिनियर ब्वाइजको प्रतिपर्धात्मक फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३–५८ ले पराजित ग¥यो। मार्वलसको जितमा सिनेप शाहीले १८ अंक योगदान गरे।
सिनियर गल्र्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १९ अंक सहयोगमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९–१४ ले हरायो। जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० ले पाखा लगायो। एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ स्कोर गरे।
सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी र जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।
सिनियर ब्वाइजमा सम्पदा, सिनियर गल्र्समा आर्या एकेडेमी र जुनियर ब्वाइजमा तेजस्वी एकेडेमीले अनुशासित टिमको ट्रफी हात पारे। विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रा.डा. रामकृष्ण महर्जन, ग्रिनफिल्डका कार्यकारी निर्देशक राजुराम अधिकारी र निर्देशक अर्जुन अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा ग्रिनफिल्डमा लगातार १५ वर्षसम्म बास्केटबल प्रशिक्षकका रुपमा कार्यरत रमेश लामालाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा ३० तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।