एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहकार्य निरन्तर

काठमाडाैं। नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटजको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ। यही भदौं १८ गते हुने अवार्डको २३औं संस्करणको लागि नेपाल खेलकुद पत्रकार मञ्च र नासा सेक्युरिटीज कम्पनी लिमिटेड बीचको सहकार्य सम्झौता नविकरण भएको छ। सम्झौतासँगै नासा सेक्युरिटीज अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ।

सम्झौताअनुसार नासा सेक्युरिटीजले अवार्डमा सहप्रायोजन गर्नेछ । मञ्चले नासालाई अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ का रूपमा प्रवर्धन गर्नेछ। सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गर्नुभएको छ।

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद पत्रकारिताको विकाससँगै नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम गर्दै आएको छ । मञ्चले पल्सर स्पोर्ट्स अवार्डमार्फत नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई हरेक वर्ष सम्मान गरिरहेको छ।

नासा सेक्युरिटीज पुँजी बजार तथा धितोपत्र कारोबार क्षेत्रमा सेवा प्रदान गर्दै आएको अग्रणी कम्पनी हो। स्पोर्ट्स अवार्डमा सहकार्य गर्दै कम्पनीले आफ्नो खेलकुदप्रतिको प्रतिबद्धतालाई पुनः एकपटक प्रमाणित गरेको छ।

स्पोट्र्स अवार्डको यो संस्करणको लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भईसकेको छ। यसपटक फुटबलकी पूजा राना, मिक्सड मार्शल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीहरुलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ मा ९ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड प्रदान गरिनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको