काठमाडाैं। सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ।
सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे।
स्यावाले सानो सहयोगले पनि खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई सफलताका लागि शुभकामना दिए।
एसियाडका लागि जुडो टोलीका टिम व्यवस्थापक नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनले सहयोगका लागि धन्यवाद दिए। जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन्।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन्। महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन्।
देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो। बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन्। दवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन्। प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन्।