काठमाडौं, भदौ १७ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदैछ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेशराज महर्जनबीच सम्झौतापत्र आदानप्रदान भएको छ। बैंकिक पार्टनरका रूपमा जोडिएको सिद्धार्थ बैंकले केवल औपचारिक प्रायोजनमा सीमित नभइ खेलकुदको समग्र विकास, प्रतिभा पहिचान, अवसर सिर्जना र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित प्रयास गर्दै आएको छ।
खेलकुदले युवाको प्रतिभा र क्षमता विकास गर्नुका साथै राष्ट्रको पहिचान र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्दछ भन्ने बैंकको धारणा रहेको छ। मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो। नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गरिनेछ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा प्रदान गरिनेछ। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ।
पिपल्स च्वाइससहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन्। मनोनयनमा परेका खेलाडीका लागि डिजिटल वालेट खल्ती बाई आईएमई, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन आज बुधबार रातिसम्म मात्र मत दिन सकिनेछ।