एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधाको उत्कृष्टलाई सम्मान गरिँदै

काठमाडौं, भदौ १८ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ आज आयोजना हुँदैछ।

अवार्डको २३औँ संस्करण काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुन लागेको हो।

यस वर्षको अवार्डमा विभिन्न ९ विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिनेछ।

अवार्डअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ।

पिपल्स च्वाइस अवार्डसहित पाँच विधाका मनोनयन यसअघि नै सार्वजनिक भइसकेका छन्। पिपल्स च्वाइस अवार्डमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन्।

मनोनयनमा परेका खेलाडीलाई खल्ती बाई आईएमई, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको फेसबुक पेजमार्फत बुधबार रातिसम्म मत दिन सकिने व्यवस्था गरिएको थियो।

नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई नेपाली खेलकुदको प्रतिष्ठित अवार्डका रूपमा लिइन्छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको