काठमाडौं, भदौ २० । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको मानवीय र भौतिक क्षतिप्रति विद्यालय खेलकुदको विश्व र एसियाली महासंघले बालबालिकाका लागि तत्काल सुरक्षित वातावरण र मनोसामाजिक सहयोग आवश्यक रहेको बताएका छन्।
विद्यालय खेलकुदको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय विद्यालय खेलकुद फेडेरेसन (आइएसएफ) र एसियन स्कुल स्पाेर्ट्स फेडेरेसनले नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै छुट्टाछुट्टै पत्रमार्पmत नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) लाई सन्देश पठाएका हुन्। साथै दुवै संस्थाले प्रभावित बालबालिका तथा विद्यालय समुदायको संरक्षण र शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। आइएसएफ र एसियाली क्षेत्रले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीलाई सम्बोधन गरिएको पत्रमा घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकको सकुशल उद्दारको कामना गरिएको छ।
साथै नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का अध्यक्ष विनोद श्रेष्ठले पनि विज्ञप्ती जारी गर्दै ठुला मात्रामा धनजनको क्षतिपछि हजारौं नागरिकले भोगेको पीडामा गहिरो दुःख प्रकट गरेको छ। महासंघले पनि प्राकृतिक विपत्तिबाट घर तथा भौतिक संरचनामा मात्रै नभई बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य र भविष्यमा समेत गम्भीर असर पर्न सक्ने भन्दै प्रभावित विद्यालय समुदायका लागि तत्काल सुरक्षित वातावरण र मनोसामाजिक सहयोग आवश्यक रहेको जनाएको छ। बालबालिका, विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय समुदाय ठुलो संख्यामा प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै एनएसएसएफले राहत र पुनस्र्थापनाका कार्यक्रममा विद्यार्थी केन्द्रित सहयोगलाई प्राथमिकता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
‘खेलकुदले कठिन समयमा एकअर्काको साथ दिन पनि सिकाउँछ,’जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एकता, मित्रता, अनुशासन, सहकार्य र मानवीय संवेदनालाई मूल मूल्य मान्ने भएकाले राष्ट्रिय विपत्तिको यस समयमा प्रभावित समुदायसँग हामी दृढतापूर्वक उभिएका छौं ।’ महासंघले आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार राहत, उद्धार, पुनस्र्थापना तथा विद्यार्थी केन्द्रित सहयोगका कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। एनएसएसएफसँग आबद्ध प्रदेश तथा जिल्ला संरचना, विद्यालय, खेलाडी, प्रशिक्षक, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय खेलकुद समुदायलाई स्थानीय आवश्यकताअनुसार मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ। एनएसएसएफले अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ र एसियन विद्यालय खेलकुद महासंघको तर्फबाट समेत बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवार र विद्यालय समुदायप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेको जनाएको छ। विपत्तिको समयमा सबै पक्षबीच सहकार्य र राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको महासंघको भनाइ छ।