माफ बास्केटबलमा ४४ टोली

काठमाडौं भदौ २४ गते । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा १५, गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले प्रतिस्पर्धा गर्ने छन्। तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छन्।

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टिमको मात्र सहभागिता रहने छ। माफमा १६ विद्यालय आबद्ध छन्।

प्रिन्सिपल राईले विद्यालय तहमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धन गर्नुका साथै विद्यालयमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए।

माफले वार्षिक कार्यक्रम अनुसार बास्केटबल, भलिबल, फुटसल प्रतियोगितासहित विविध अत्तिरिक्त क्रियाकलापका प्रतिस्पर्धा गराउदै आएको छ। खेलहरु काठमाडौं महानगरपालिका वडा ६, सरस्वतीनगरस्थित गोल्डेनपिककै कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको