काठमाडौं। पोर्चुगलको अल्बुफेरामा आयोजना हुने International Kempo Open Cup 2026मा नेपालले सहभागिता जनाउने भएको छ। आगामी सेप्टेम्बर १२ र १३, २०२६ मा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल केम्पो खुकुरी फेडेरेशनले दुई सदस्यीय टोलीसहित सहभागिता जनाउन लागेको हो।
Portuguese Kempoतथा International Kempo Federation (IKF)को आयोजनामा हुने प्रतियोगितामा विश्वका करिब ३० देशका खेलाडी तथा प्रतिनिधिहरूसहभागी हुने जनाइएको छ। विभिन्न देशका उत्कृष्ट केम्पो खेलाडीहरूको सहभागिता रहने भएकाले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण केम्पो प्रतियोगिताका रूपमा हेरिएको छ।
नेपाल केम्पो खुकुरी फेडेरेशनका अध्यक्ष पाभेल कुमार शाह को नेतृत्वमा दुई सदस्यीय नेपाली टोलीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ। नेपाली टोलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको केम्पो खेलको पहिचान स्थापित गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
नेपालले विगतदेखि नै विश्व तथा अन्तर्राष्ट्रिय केम्पो प्रतियोगिताहरूमा नियमित सहभागिता जनाउँदै आएको छ। नेपाली केम्पो खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पदक हासिल गर्दै आएका छन्। पछिल्लो समय नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिले नेपालमा केम्पो खेलको विकास र विस्तारमा समेत सकारात्मक प्रभाव पारेको छ।
अल्बुफेरामा हुने यस प्रतियोगितामा नेपाली टोलीले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। प्रतियोगितामार्फत नेपाली खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
नेपाल केम्पो खुकुरी फेडेरेशनले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुशासन, खेलभावना र उत्कृष्ट प्रदर्शनका साथ नेपालको राष्ट्रिय झण्डा फहराउने विश्वास व्यक्त गरेको छ।