काठमाडाैं। म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सरस्वतीनगरस्थित गोल्डेनपिक हाइ स्कुलमा सुरु भएको छ।
पहिलो दिन जुनियर ब्वाइजको समूह चरणका खेल सम्पन्न भएको छ। गोल्डेनपिक, सम्भावी, ज्ञान निकेतन, विच किड्स, लाइसियम मोडेल, नेपाल मेगा, प्रस्फुटन र एडभान्सले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
प्रतियोगिताको माफका अध्यक्ष रविन दाहाल, गोल्डेन पिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्री, माफका सल्लाहकार तथा बेबिलोन स्कुलका प्रिन्सिपल राजु राई र गोल्डेन पिक स्कुलका प्रधानाध्यापक छत्रमणि राईले संयुक्त रूपमा उद्घाटन गरे।
गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगितामा ३ विधामा माफमा आबद्ध १६ विद्यालयका ४४ टिमको सहभागिता रहने छ। सो अवसरमा माफका अध्यक्ष दाहाल र गोल्डेन पिक स्कुल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्रीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा टोलीलाई शुभकामना दिए।
उनीहरूले विद्यालय तहमा बास्केटबल खेलको विकास र प्रवद्र्धनसँगै स्वस्थ प्रतिस्पर्धा तथा खेलभावनाको विकासमा यस्ता प्रतियोगिताको महत्व रहेको बताए। प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै उनीहरूको बास्केटबल सीप, अनुशासन, समूहकार्य र खेलभावनाको विकासमा योगदान पु¥याउने आयोजकले जनाएको छ।