काठमाडौं, भदौ २८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाई गरेका छन्।
उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलिलाई काठमाडौ दरबारमार्ग स्थित होटल उडल्याण्डमा मुख्यमन्त्रीले खेल पोशाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन्।
मुख्यमन्त्री थापामगरले नेपाली टोलीले ओलम्पियाडमा पदक प्राप्त गरेको खण्डमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने बताए। खुला तर्फ २ सय ८ राष्ट्र तथा महिलातर्फ १ सय ९१ राष्ट्र सहभागी रहने ओलम्पियाडमा नेपाल समूह डि मा प्रतिस्पर्धा गर्ने छन्।
नेपाल बुद्धिचाल महासंघले गत ४५ दिन देखी नेपालका दुबै टोलीलाई विशेष बन्द प्रशिक्षण दिंदै उच्च मनोबलका साथ तयारी सम्पन्न गरेका छन्।
कजाकिस्तानका अर्न्तराष्ट्रिय मास्टर किरिल कुदेरिनोभलको प्रशिक्षणमा तथा क्याप्टेन रहेको नेपाली पुरुष टोलिमा एफएम रूपेश जयसवाल, सिएम सुश्रुत दाहाल तथा पुरुषोतम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीको सहभागीता रहेको छ।
यस्तै एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा एवं क्याप्टेन रहेको महिला टोलिमा कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीको सहभागीता रहेको छ।
नेपाल बुद्धिचाल महासंघका कार्यबाहक कोषाध्यक्ष आईए निरञ्जन प्रजापति निर्णायक, प्रवक्ता राजु ताम्राकार तथा सल्लाहकार मा. रघुनाथ महर्जन पनि टोलीसँगै प्रस्थान गर्ने छन्। फिडेको विशेष निमन्त्रणामा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामा बिहिबार फरक क्षमताको ओलम्पियाड उद्घाटन समारोहमा सहभागी हुन उज्वेकिस्तान पुगिसकेका छन्।