काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पहिलाे दिन करातेमा नेपाल पदकविहीन भएको छ। पदकको आश गरिएको करातेमा नेपाली खेलाडीहरूले आज भएका प्रतिस्पर्धामा अपेक्षाअनुसारको उपलब्धि हासिल गर्न सकेनन्।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एरिका गुरुङले कडा चुनौती प्रस्तुत गरे पनि पदक जित्नबाट चुकिन्। ६८ केजीमाथिको तौल समूहमा एरिका काजाकिस्तानकी मोस्ताफासँग ८–७ अंकले पराजित भइन्।
यस्तै, ५५ केजीमुनिको तौल समूहमा तेस्रो स्थानका लागि भएको खेलमा राकेश मानन्धर मलेसियाका कालिनन सुन्दरमसँग ९–१ अंकले पराजित भए। ६० केजीमुनिको तौल समूहमा मिनबहादुर तामाङ साउदी अरेबियाका अलबासरसँग २–० अंकले पराजित भए।
उसुमा पनि पदक आएन
उसुको पुरुष छानक्वानमा मकाउका खेलाडी पहिलो हुँदा नेपालका विजय सिंजाली १९औँ स्थानमा सीमित भए। यस विधामा २१ खेलाडी सहभागी थिए।
महिलातर्फ थाइची अलराउन्डमा १३ देशका खेलाडी सहभागी थिए। नेपालकी सविता राई ११औँ स्थानमा रहिन् भने चीनले पहिलो स्थान हासिल गर्यो।
भलिबलमा नवौँ स्थानका लागि प्रतिस्पर्धा
पदकको दौडबाट बाहिरिए पनि नेपाली महिला भलिबल टोलीले बरियता निर्धारणतर्फको खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। जितसँगै नेपालले ९ देखि १२औँ स्थानका लागि हुने खेलमा स्थान बनाएको छ।
नेपालले अब हङकङसँग अर्को खेल खेल्नेछ।
टेबल टेनिसमा पनि निराशा
महिला टेबल टेनिसमा पनि नेपाली खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। इभाना थापा चिनियाँ खेलाडीसँग ३–० ले पराजित भइन्। यस्तै, रुविना महर्जन चिनियाँ ताइपेईकी खेलाडीसँग पराजित भइन्।