काठमाडाैं। नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो। दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो। तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ ले पछि प¥यो। यससँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले सुरुआत ग¥यो। दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन। दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो। दोस्रो हाफमा थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो।
समूह ‘बी’ को थाइल्यान्डले ११ अंकको जित निकाल्यो। भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो। विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए। नेपालले २९ रेड अंक र बोनस अंक १८ पायो। साथै एक सुपर अंकसमेत नेपालले प्राप्त गरेको थियो। पहिलो खेलमै पराजित भएपछि नेपाल दोस्रो चरणमा पुग्न दबाबमा परेको छ।