मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

काठमाडौं, असोज ७ गते । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजानमा हुन लागेको प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए।

६ दिनसम्म चल्ने प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएप क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब (संखुवासभा) र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस्तै विदेशी टोलीमा भारतका गुजराज स्टेट भलिबल एसोसियसन र खैरा क्लब पन्चाब तथा श्रीलंकन पुलिस टिम रहेको छ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ।

प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए।

‘जननेता मदन भण्डारीको नाममा स्थापति मदन भण्डारी स्पोर्ट्स एकेडेमीले यसअघि पनि खेलकुदका बहुआयामिक गतिबिधि गर्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली भलिबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा प्रवद्र्धन गर्ने विश्वास गरेका छौं,’ अध्यक्ष आचार्यले भने।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ खर्च हुनेले जानकारी दिए। ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ २०६६ साल पुस १७ गते स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले यसअघि विद्यालयदेखि विश्वविद्यालय, स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका एथलेटिक्स, टेबलटेनिस, भलिबल, कराते, हक्की, रेस्लिङलगायत प्रतियोगिता आयोजना गर्दै आएको छ। एकेडेमीको स्थानीय तह, जिल्ला, प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्मका संगठन निर्माण भएका छन्।

आगामी वर्ष रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितालाई फराकिलो बनाउँदै लैजानले र ठूला देशलाई बोलाएर खेलाउने पनि एकेडेमीले जनाएको छ। गत संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको