काठमाडौं। जापानको योकोहामामा भएको ११औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य गरी ६ पदक जितेको छ।
नेपालले व्यक्तिगत स्पर्धामा ४ र टिम स्पर्धामा २ गरी ६ पदक जित्यो। महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए। महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङले कांस्य जिते।
दोहोरो पदक जितेका एरिका र निरुपाले महिला टिम कुमुते पनि कांस्य हात पारे। यो स्पर्धामा उनीहरुसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कांस्य थपे। २० औं एसियाली खेलकुदको कारतेमा सहभागी भइ नेपाली टोली जापानको नागोयाबाट योकोहामा गएको थियो। टोली मंगलबार नेपाल आइपुग्ने छ।