काठमाडौं असोज १३ गते । मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले सहजै पराजित ग¥यो।मार्वलसका लागि सिनेप शाहीले २६ स्कोर गरे। उपाधिसँगै मार्वलसले २५ हजार तथा संस्कृतिले १५ हजार नगद पुरस्कार जिते।
सुरुका ३ क्वाटरमा क्रमशः १९–६, १४–८ र २७–१२ को अग्रता बनाउदै मार्वलसले जितको महत्वपूर्ण आधार तयार गरेको थियो। अन्तिम तथा चौथो क्वाटरमा संस्कृतिले २२–२० को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन। यो वर्ष मार्वलसको यो लगातार चौथो उपाधि हो। यसअघि मार्वलसले तेजस्वी, ग्रिनफिल्ड र ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो। यी तीनै उपाधि यात्रामा पनि मार्वलस अपराजित रह्यो।
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को सहयोगमा भएको प्रतियोगितामा मार्वलसका रोशन कुश्वाहा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष थकिनकुमार गुरुङ र महासविच आरबी कटुवाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। असोज ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ४० टिम सहभागी थिए।
