काठमाडौं। क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर अचानक छाड्नुको कारण सार्वजनिक गरेका छन्। उनले प्रशिक्षक जोर्गे जेसुसले आफूसँग गरेको सहमति दुईपटक तोडेपछि शिविर छाडेको बताएका छन्।
अक्टोबर ६ आर्थात् आज सार्वजनिक गरेको लामो वक्तव्यमा रोनाल्डोले जेसुससँग आफूलाई खेलाउने विषयमा पहिले नै योजना बनेको बताएका छन्। उनका अनुसार नर्वे र डेनमार्कविरुद्धका खेलमा नखेल्ने योजना रहे पनि नर्वेविरुद्धको खेलअघि प्रशिक्षकले आफूलाई करिब ३० मिनेट खेल्ने बताएका थिए।
रोनाल्डोका अनुसार उनी दोस्रो हाफको सुरुदेखि ‘वार्मअप’मा रहे पनि मैदान प्रवेश गर्ने मौका पाएनन्। त्यसपछि उनले प्रशिक्षकले आफ्नो वाचा तोडेको महसुस गरेको बताएका छन्।
त्यसपछि जेसुस, रोनाल्डो र अन्य अधिकारीबीच भएको छलफलमा आगामी पत्रकार सम्मेलनमा घटनाबारे सहमति भएको विषय सार्वजनिक गर्ने समझदारी बनेको रोनाल्डोको दाबी छ। तर पत्रकार सम्मेलनमा आफूले सहमति गरेको विषयअनुसार कुरा नभएपछि प्रशिक्षकले दोस्रोपटक पनि वाचा तोडेको उनले बताएका छन्।
‘थप वाचा तोडिन पर्खनुभन्दा प्रशिक्षण शिविर छाड्ने निर्णय गरेँ’ भन्ने आशय व्यक्त गर्दै रोनाल्डोले आफ्नो निर्णयप्रति भने जिम्मेवारीसमेत स्वीकार गरेका छन्। उनले टोली र समर्थकसँग माफी माग्दै आफ्नो व्यवहारका लागि पोर्चुगल फुटबल महासंघले आवश्यक कारबाही गर्नुपर्ने बताएका छन्।
यद्यपि, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा भने गरेका छैनन्। शारीरिक रूपमा फिट रहेर क्लबमा खेलिरहेको अवस्थामा सम्भावित कारबाही पूरा गरेपछि आफू पोर्चुगलका लागि पुनः उपलब्ध हुने उनले स्पष्ट पारेका छन्।
प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग त्यस्तो कुनै सहमति नभएको बताएका छन्। त्यसैले हालसम्म सार्वजनिक भएको विषयमा रोनाल्डोको दाबी र प्रशिक्षकको भनाइ फरक–फरक छन्।