आर्मी फाइनलमा

निराज रानाभाट, बारा । सिमरा भेट्रान क्लबको आयोजनामा जारी ‘छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८३’ मा त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

आयोजक सिमरा भेट्रान क्लबलाई १५-० गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको छ। आर्मीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा नै ८ गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो, भने दोस्रो हाफमा पनि आर्मीको आक्रामकता रोकिएन र टोलीले थप ७ गोल गर्दै जितलाई अझ फराकिलो बनायो ।

आर्मीको शानदार जितमा चन्द्रा भण्डारीले ६ गोल गर्दै दाेहाेराे ह्याट्रिक पूरा गरिन्, भने सुक्रिया मियाले ३ गोल गर्दै ह्याट्रिक गरिन्। आर्मीका अन्य खेलाडीहरूले पनि गोल गर्दै टोलीलाई एकतर्फी जित दिलाए। राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले आफ्नो अनुभव र स्तर प्रदर्शन गर्दै सहज जित निकालेको हो। क्वार्टरफाइनलमा भारतको कुर्सियाङ गर्ल्स फुटबल एकेडेमी दार्जिलिङलाई हराएर सेमिफाइनल पुगेको आर्मीले लगातार दोस्रो जित निकाल्दै उपाधि नजिक पुगेको छ।

यता आयोजक सिमराले क्वार्टरफाइनलमा धरानको रेखाहाङ फेयर एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। यस जितसँगै आर्मी प्रतियोगिताको पहिलो फाइनलिस्ट बनेको छ। अब आर्मीले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको