नेपालमा ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा

काठमाडौं, असोज २४ । नेपालको रग्बी खेललाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले हिमालयन स्पोटर््स म्यानेजमेन्टले विभिन्न कार्यक्रमहरू तय गरेको छ।

हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ‘फ्रम हिमालयज टु द वल्र्ड’ भन्ने नारा राख्दै विभिन्न योजनाहरू सार्वजनिक गरेको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले प्ले रग्बी नेपाल नाम दिएर सन् २०२६ देखि २०२८ सम्म सञ्चालन गर्ने गरी ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरेको हो। नोभेम्बर २०२६ देखि अप्रिल २०२८ सम्म सञ्चालन गर्ने लक्ष्य राखिएको अभियान नेपाल रग्बी संघको सहकार्यमा सातै प्रदेशमा सञ्चालन हुनेछ। अभियानले रग्बी विकास, युवा तथा महिला सशक्तीकरण, खेल पर्यटन, वातावरण संरक्षण र सांस्कृतिक प्रवद्र्धनलाई प्राथमिकता दिनेछ।

अभियानअन्तर्गत सातै प्रदेशमा दुई दिने रग्बी तथा सामुदायिक महोत्सव आयोजना गर्ने योजना छ। प्रत्येक प्रदेशमा लैङ्गिक समानता, शान्ति, पर्यटन, जलवायु कार्य, युवा नेतृत्व र जैविक विविधता संरक्षणजस्ता विषयलाई रग्बीसँग जोडिनेछ। आयोजकले अप्रिल २०२७ मा सबैभन्दा लामो निरन्तर रग्बी खेल तथा अप्रिल २०२८ मा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी वान रग्बी आयोजना गरी दुई विश्व कीर्तिमान कायम गर्ने लक्ष्य राखेको छ। दुवै चुनौती प्रस्तावित योजनाका रूपमा छन्। अभियानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय रग्बी तथा दिगो खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य छ। पहिलो चरणमा एभरेस्ट रग्बी लेगसी नेसनल अन्तरक्रियाबाट कार्यक्रममा सुरुआत गर्दै आयोजकले देशका विभिन्न प्रदेश रग्बी खेल विकासका योजना पनि अघि सारेको छ।

कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालको खेल विकासमा विद्यालय तहदेखि नै खेलहरू अगाडि बढाउनुपर्ने धारणा राखेका छन्। साथै देशका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीति क्षेत्र, शैक्षिक क्षेत्रका साथै पर्यटनसँग जोड्न आवश्यक रहेको वक्ताहरूको जोड थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले नेपालको रग्बी खेल चिनाउने गरी कार्यक्रम ल्याएकोमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टलाई धन्यवाद दिएका छन्। पछिल्ला समय नेपाल रग्बी संघले चरणवद्ध आफ्ना गतिविधि गरिरहेको समयमा नयाँ ढंगबाट यस्ता कार्यक्रम आउनु सकारात्मक पक्ष रहेको सदस्यसचिव मेहताको विश्वास छ। नीजि क्षेत्र पनि रग्बी खेलको विकासमा अगाडि आउनुले यो खेल सही बाटोमा जाने संकेत गरेको उनले बताए। रग्बी खेल विकासमा सरकार सदैव अघि रहने सदस्यसचिव मेहताले विश्वास व्यक्त गरेका छन्।

राखेपका पूर्वसदस्यसचिव टंकलाल घिसिङले साहसिक खेलमा रग्बी खेलको लेगेसी बढ्नु सकारात्मक रहेको बताए। तथापि उद्देश्य सही भयो भने मात्र यो कार्यक्रमले सार्थकता पाउने उनको विश्वास छ। त्यसैले आफ्ना योजनाहरूमा सही तरिकाबाट अगाडि बढाउँदै पर्यटनसँग जोड्नुले अन्तर्राष्ट्रिय जगतको पनि नजर नेपाली खेलकुदमा पर्ने उनले आशा व्यक्त गरे। सगरमाथाको आधार शिविरमा निरन्तर ३६ घन्टाभन्दा बढी समय खेल खेलाउने तयारी गर्नु सहज नरहेको उनले बताए।

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले नेपालमा रग्बी खेलको संस्थागत सुरुआत तीन दशक पूरा भए पनि मैदानमा गतिविधि नहुँदा नयाँ खेलका रूपमा चित्रित भइरहेको बताए। तथापि आफूहरूले सन् २०२३ देखि निरन्तर रग्बी खेलका गतिविधि अगाडि बढाइरहेको उनको धारणा छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले रग्बी खेलमार्फत देशको पर्यटन क्षेत्रलाई जोड्नु सकारात्मक रहेको र यसका लागि सरकारले पनि सहयोग गर्ने बताए। आयोजकले योजनाहरू महत्वाकांक्षी रहे पनि उद्देश्य सही हुँदा सफल हुने उनको विश्वास छ।

नेपालको खेलकुदलाई अगाडि बढाउन सरकारले लगानी बढाउन आवश्यक रहेको उनले धारणा राखे। साथै सरकारसँगै सबै क्षेत्रले खेलकुदप्रतिको धारणा सकारात्मक राख्नुपर्ने मन्त्री पौडेलले बताए । शैक्षिक संस्था आफै खेलकुदमा चासो राखेर अघि बढ्यो भने खेल विकासमा फड्को मार्ने मन्त्री पौडेलले उल्लेख गरे। नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले रग्बीका कार्यक्रमसँगै युवालाई पनि जागरुक बनाउने खालका योजना अघि बढाएको बताए। नेपालको खेल विकास गर्न विद्यालय खेलकुद महत्वपूर्ण रहेको उनको भनाइ छ।

हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका प्रोग्राम डाइरेक्टर विनोद तामाङले सातै प्रदेशमा ग्रासरुट कार्यक्रम आयोजना गर्ने, विश्वको सर्वोच्च शिखरमा विश्व कीर्तिमान राख्न प्रतियोगिता राख्ने र समुदाय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली रग्बीलाई अगाडि बढाउने उद्देश्यअनुरूप कार्यक्रम तय गरिएको बताएका छन्। यसका लागि चरणबद्ध रूपमा विभिन्न कार्यक्रम तथा योजनाहरू तय गरिएको उनको भनाइ छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको