काठमाडौं असोज २८ गते । एभीएम टेबलटेनिस क्लबकाद्वय रुविन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन्। यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्राे तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्राे भए।
यु–२१ गल्र्स सिंगल्समा एभीएमकी वियंका राई दोस्राे तथा एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेस्राे बने। नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य जिते।
दुईदिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि यु–१३ र यु–१७ गल्र्स सिंगल्समा साइरा शाक्य तथा यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले पुरस्कृत गरे। प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको थियो।