युवराजको शतकमा पोखराको सानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं। युवराज सिंह साम्राको शतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो। यो जितसँगै पोखराले प्रतियोगितामा पहिलाे दुई अङ्क जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। पोखराका लागि युवराज सिंह साम्राले ४८ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १०२ रन बनाए। उनले २३ बलमै अर्धशतक पूरा गरेका थिए।

एनपीएलको तेस्रो संस्करणमा शतक प्रहार गर्ने साम्रा पहिलो खेलाडी बने।

कुशल भुर्तेलले ३९ बलमा ६२ रनको योगदान दिए। त्यस्तै, कप्तान चामिका करुणारत्नेले केवल ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित ३५ रन बनाए।

महेदी हसनले १६ बलमा ५ रन बनाउँदा पोखराले सुरुआती विकेट गुमाएको थियो। त्यसपछि साम्रा र भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

कर्णालीका लागि सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए।

लक्ष्य पछ्याएको कर्णालीका लागि पवन शराफले सर्वाधिक ३२ रन बनाए। उनले ३१ बलमा १ चौका र २ छक्का प्रहार गरे। दीपक डुम्रेले ७ बलमा २२ तथा कप्तान सोमपाल कामीले १९ बलमा २१ रन जोडे। सोमपाल क्षेत्ररक्षणमा अवरोध पुर्‍याएको कारण आउट भए।

पोखराका लागि महेदी हसनले ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कुशल भुर्तेल, धनञ्जय लक्षान र विपिन खत्रीले समान २ विकेट लिए।

यस जितसँगै पोखराले लगातार पराजयको शृङ्खला तोड्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। अर्कोतर्फ कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको