एन्फा कार्यसमिति बैठक : नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शनिबार सम्पन्न कार्यसमिति बैठकले २०८३–२०८६ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले २०८२ पुस १६ गते गरिएको निर्वाचनसम्बन्धी निर्णय बदर गर्दै वैशाख २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न साधारण सभाको निर्णयअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

एन्फाले विधानअनुसार नियमित निर्वाचन सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने र नयाँ नेतृत्व चयनका लागि सम्बन्धित सबै पक्षसँग सहयोगको आह्वान गर्ने निर्णयसमेत गरेको छ। साथै, एन्फामाथिको निलम्बन फुकुवा, संस्थाको स्वच्छता र स्वायत्त निर्णय प्रक्रियालाई कार्यान्वयन गर्न पहल गर्ने जनाएको छ।
बैठकले फिफा यु–१५ वल्र्ड फेस्टिभलमा सहभागी नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई जनही ५० हजार रुपैयाँ र अफिसियललाई जनही ३० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

यस्तै, यु–१५ खेलाडीको प्रतिभा र क्षमता विकासका लागि आगामी २०८३ माघमा एन्फा यु–१५ फेस्टिभल आयोजना गरिने भएको छ । उक्त फेस्टिभलको संयोजन उपाध्यक्ष विराटजंग शाहीले गर्नेछन्। प्रतियोगिता आयोजना गर्न फिफा, एएफसी, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग बजेट माग गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी पनि एन्फाले गरेको छ।

यसैगरी, एन्फा अध्यक्ष र महासचिवले कार्यसमितिले माग गरेको विवरणको जवाफ नपठाएको भन्दै तीन दिनभित्र आवश्यक सत्यतथ्य विवरण पेस गर्न पुनः अनुरोध गर्ने निर्णय भएको छ। बैठकले निमित्त महासचिव दामोदर भट्टराई (बद्री) लाई एन्फा कार्यालय सञ्चालन, पत्राचार, समन्वय तथा नियमित प्रशासनिक काम गर्ने अधिकार पनि दिएको छ।

लामो समयदेखि स्थगित एन्फाको प्रशिक्षण कार्यक्रम शनिबारदेखि पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन टेक्निकल डाइरेक्टर, प्रशिक्षक संघ, सम्बन्धित प्रशिक्षक र कर्मचारी सम्मिलित समिति गठन गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिइएको छ।
त्यस्तै, एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको वर्तमान अवस्था, सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रमबारे प्रतिवेदन पेस गर्न सचिवालयलाई निर्देशन दिइएको छ।

बैठकले दशौँ राष्ट्रिय खेल महोत्सवमा फुटबलतर्फका प्राविधिक विषयमा समन्वय गरी प्रतियोगिता सफल बनाउन सहयोग गर्ने तथा एन्फाको नियमित काम सञ्चालनका लागि आवश्यक सामग्री फिर्ता गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको