काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै लिग चरणको अन्तिम खेलमा जित निकालेको छ। यो जितसँगै लुम्बिनी ७ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ११ बलमा अविजित २५ रन जोडे। उनले ३ छक्का र १ चौका प्रहार गरे। रुबेन ट्रम्पलम्यानले १ बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा ६ छक्का र १ चौका प्रहार गरे। शुभम रञ्जानेले अविजित ३१ रन जोडे।
लुम्बिनीका किशोर महतोले २ तथा रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १ विकेट लिए।
यस जितसँगै लुम्बिनीले लिग चरणको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको छ। पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ।
