काठमाडौं । हिमालयन जुनियर चेस च्याम्पियनसिपमा आइतबार सुहानी सिंह र एल्बिक अधिकारी च्याम्पियन भएका छन्। सुहानी यू १२ गल्र्स र एल्बिक यू १२ ब्वाइजमा च्याम्पियन भएका हुन्।
हिमालयन चेस एकेडेमीको काठमाडौं ११ थापाथालीस्थित चेस हलमा आयोजित प्रतियोगितामा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी सुहानीले शतप्रतिशत जितसहित ४ अंक बटुल्दै पहिलो स्थान हासिल गरेकी हुन्। सेन्ट मेरिजकी श्रीशा बल्ल ३ अंकसहित दोस्रोमा रहिन् भने कश्यप एकेडेमीकी प्रसन्ना चौधरी २ अंक जोड्दै तेस्रो भइन्।
यू १२ ब्वाइजतर्फको उपाधि होड निक्कै रोचक रह्यो। स्वीस लिग प्रणालीको आधारमा १० मिनेट र प्रतिचाल थप ५ सेकेन्डको आधारमा सञ्चालित र्यापिड चेसमा काठमाडौं वल्र्ड स्कुलका एल्बिक अधिकारी, माछापच्छ्रे स्कुलका रियांश महर्जन र बुद्ध इन्टरनेसनल स्कुलका इंगित कोर्मोचाले समान ४ अंक जोडे। समान अंक भएपनि बुकोल्जको आधारमा एल्बिक पहिलो भएका हुन्।
बुकोल्जमा एल्बिकले १३.५ अंक बनाउँदै ट्रफी हात पारे। बुकोल्जमा १२.५ अंकसहित रियांश उपविजेता भए। इंगित बुकोल्जमा ११.५ अंकसहित तेस्रोमा रहे। विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। एकदिने प्रतियोगितामा १८ स्कुलका १९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जसमा ब्वाइजतर्फ १४ र गल्र्समा ५ जना थिए।
जुनियर खेलाडीलाई एक्सपोजर दिने उद्देष्यले हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन जुनियर चेस च्याम्पियनसिप’मा यू ८, १०, यू १२ र यू १४ गल्र्स र ब्वाइज गरी कुल आठ वटा प्रतियोगिता सञ्चालन गरेको हो। अब बाँकी यू १४ को प्रतियोगिता मंसिर ६ गते हुनेछ। त्यसपछि ‘ग्रयान्ड फाइनल’ मंसिर १३ गते आयोजना गर्ने एकेडेमीले जनाएको छ।
यसअघि सम्पन्न यू ८ ब्वाइजमा जेम्स स्कुलका विरा सारडा, गल्र्समा काष्ठमण्डप विद्यालयकी सहस्रा क्षेत्री तथा यू १० ब्वाइजमा रातो बंगलाका शुभांग प्रधान र गल्र्समा सेन्ट मेरिजकी श्रीशा बल्लले सफलता हात पारेका थिए।
