स्पेनको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम, इंग्ल्यान्डसँग स्तब्ध

काठमाडौं। स्पेनको ४३ खेल लामो अपराजित यात्रा अन्त्य भएको छ। यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए३ को खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोलले पराजित गरेसँगै स्पेनको अपराजित यात्रा टुंगिएको हो।

आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफको ४५औँ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

दोस्रो हाफमा इंग्ल्यान्डले थप दुई गोल गर्‍यो। ५३औँ मिनेटमा एज्री कोन्सा र ५७औँ मिनेटमा बेन ह्वाइटले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए।

६३औँ मिनेटमा इंग्ल्यान्डका इलियट एन्डरसनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको दुई मिनेटपछि स्पेनका मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए। ७५औँ मिनेटमा निको विलियम्सले अर्को गोल थपे पनि स्पेनले हार टार्न सकेन।

यसअघि स्पेन सन् २०२४ को मार्चमा कोलम्बियासँग पराजित भएको थियो। त्यसपछि लगातार ४३ खेलसम्म अपराजित रहेको स्पेनको यात्रा इंग्ल्यान्डले अन्त्य गरिदिएको हो।

यस जितसँगै इंग्ल्यान्ड र स्पेन दुवैले ६ खेलबाट समान १५ अंक जोडे। गोलअन्तरका आधारमा इंग्ल्यान्ड समूह ए३ को शीर्ष र स्पेन दोस्रो स्थानमा रहे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको