बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले लिए सन्न्यास

काठमाडौं। बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले १६ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउँदै सोमबार सन्न्यासको घोषणा गरेका हुन्।

बेल्जियमका लागि १३५ खेल खेलेका लुकाकुले ९४ गोल गरेका छन्। उनी बेल्जियमको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट २० गोलमा सहयोगसमेत पुर्‍याएका छन्।

लुकाकुले बेल्जियमका लागि सन् २०१० मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलजीवन सुरु गरेका थिए। यस अवधिमा उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरे।

सन् २०१८ को विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उक्त प्रतियोगितामा उनले चार गोल गरेका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा ९४ गोल गरेका लुकाकु पुरुष फुटबलका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन्। उनको सन्न्याससँगै बेल्जियमको राष्ट्रिय टोलीले आफ्नो इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीलाई गुमाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको