एनपिएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र लुम्बिनी खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) तेस्रो संस्करणको फाइनल प्रवेशका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ ।

सुदूरपश्चिम र लुम्बिनीबीचको खेल मंगलबार(आज) साझ ५ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुदैछ । यो खेलको विजेता सोझै फाइनल पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ ।

यस खेलमा पराजित हुनेले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । एलिमिनेटर खेलमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज खेल्दैछन् । यस खेलमा विजयी तथा पहिलो दोस्रो क्वालिफायरमा पराजित हुने टोलीका बीच बिहिबार फाइनल प्रवेशका लागि खेल हुनेछ ।

लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर विजेता बनेको थियो । सुदूरपश्चिम अघिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि च्याम्पियन भने बन्न सकेको छैन ।

यी दुई टोलीबीच आज एनपिएल इतिहासमा पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिका भेटमा दुवै टोलीले समान दुई खेल जितेका छन् । पछिल्ला दुई भेटमा लुम्बिनी अपराजित रहेको छ ।

जारी सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । पछिल्ला दुई खेलमा फराकिलो हारको सामना गरेको सुदूरपश्चिमका लागि यो खेल बदला लिने अवसर हुनेछ । उता, लुम्बिनी भने लगातार तेस्रो जितसहित फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको