काठमाडौं। प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला टी–२० छनोट प्रतियोगितामा स्याङ्जाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। मंगलबार नवलपुरलाई ६१ रनले पराजित गर्दै स्याङ्जाले लगातार तेस्रो जित दर्ता गरेको हो।
स्याङ्जाले दिएको ११७ रनको लक्ष्य पछ्याएको नवलपुर १७.३ ओभरमा ५५ रनमै समेटियो। नवलपुरका लागि धनकुमारी क्षेत्रीले सर्वाधिक ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन्।
स्याङ्जाको जितमा सिमाना केसीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिन्। उनले अविजित २९ रन बनाउनुका साथै ३ विकेटसमेत लिइन्। अपेक्षा बुढाथोकीले पनि ३ विकेट हात पारिन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११६ रन बनाएको थियो।
