एक महिनाभित्र एन्फामाथिको प्रतिबन्ध हटाउने फिफाको सहमति

काठमाडौं । विश्व फुटबलकाे सर्वाेच निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन एक महिनाभित्र हटाउन सहमति जनाएको छ। यससँगै करिब पाँच महिनादेखि अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट अलग रहेको नेपाली फुटबल पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्कने बाटो खुलेको छ।

बिहीबार थाइल्यान्डमा आयोजित एएफसी अवार्ड २०२६ को अवसरमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिबीच भएको छलफलमा निलम्बन हटाउने विषयमा सहमति जुटेको हो।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी थियो। प्रतिनिधिमण्डलमा मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार र राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ पनि सहभागी थिए।

बैठकमा निलम्बन फुकुवासहित विभिन्न विषयमा छलफल भएको र एक महिनाभित्र निलम्बन हटाउने सहमति भएको मन्त्रीका प्रमुख सल्लाहकार ब्यञ्जनकारले जानकारी दिएका छन्।

यसअघि राखेपले एन्फामाथि लगाएका सम्पूर्ण प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। एन्फाको निर्वाचन प्रक्रिया र फुटबलको सर्वोच्च निकायको स्वायत्ततालाई लिएर उत्पन्न विवादपछि राखेप र एन्फाबीच मतभेद बढेको थियो।

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै सन् २०२६ जुन २४ मा एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको थियो। राखेपले एन्फाको आन्तरिक गतिविधिमा हस्तक्षेप गरेको ठहर गर्दै फिफाले उक्त निर्णय लिएको थियो।

यद्यपि, पछिल्लो सहमतिलाई नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिए पनि निलम्बन औपचारिक रूपमा हटाउन फिफाको अन्तिम निर्णय आउन बाँकी छ।

फिफाले सहमतिअनुसार एक महिनाभित्र निलम्बन हटाएमा नेपाली राष्ट्रिय टोली र नेपाली क्लबहरूले पुनः अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। त्यससँगै करिब पाँच महिनादेखि अन्तर्राष्ट्रिय फुटबलबाट अलग रहेको नेपाली फुटबलले पुनरागमन गर्ने अवसर पाउनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको