विश्व पारा तेक्वान्दोमा दिपेशलाई रजत

काठमाडौं मंसिर ४ गते । नेपालका दिपेश महतले दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित ११औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जि १४) मा रजत पदक जितेका छन्।

पुरुष के४१ क्याटगोरीको –५८ केजीमुनि दिपेशले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा टर्कीका कोसे साबितलाई नकआउट (१४–४) को आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए। स्वर्ण पदक भिडन्तमा भने दिपेश रुसका याकुपोभ रिनाटसंग चुके।

नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धी हात पारेको हो। यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले रजत पदक जितेका थिए।

दिपेशसहित प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन्। के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब ए. विरुद्ध खेल्ने छन् । नेपाली टोलीको टिम म्यानेजर हेमन्त डाँगी र टिम प्रशिक्षक कविराज नेगी लामा रहेका छन्।

प्रतियोगितामा ६४ राष्ट्रका २ सय ४५ खेलाडीहरूको सहभागिता रहेको प्रशिक्षक लामाले जनाएका छन्। उद्घाटन समारोहको मार्च पासमा अमिर भ्लोनले नेपालको झण्डा बोकेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको