काठमाडाैं। रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकको मद्दतले एपिएफ फुटबल क्लबले झापाको दुधेमा सञ्चालित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको छ।
अब सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबको सामना गर्नेछ। खेलको २६औँ मिनेटमा एपिएफले अग्रता लियो। एपिएफकी रश्मिकुमारी घिसिङले रेनुका नगरकोटीले गरेको प्रहारलाई कट ब्याक गर्दै पोस्टको दिशा दिइन्। ३०औँ मिनेटमा रश्मिले नै अग्रता दोब्बर बनाइन्। ४५औँ मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै ह्याट्रिक पूरा गरिन्।
५२औँ मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल गरिन्। भुटानकी पुनम चेम्जोङले उनलाई डि–एरियामा फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो। ५५औँ मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोल अन्तर फराकिलो पारिन्। ५९औँ मिनेटमा कुसुम खतिवडासँग तालमेल गर्दै बल अगाडि बढाएर सोमबारको खेलमा दोहोरो ह्याट्रिक गरिन्।
६२औँ मिनेटमा अनिता केसीले गोल गरिन्। रश्मिको पासमा केसीले गोल गरेकी थिइन्। धरानमा भर्खरै सम्पन्न धरान महिला गोल्डकपको विजेता टोली एपिएफले उपाधिका लागि यस मैदानमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। एपिएफ गत संस्करणको उपविजेता पनि हो।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता एपिएफकी रश्मिकुमारी घिसिङ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन्। भोलि (मंगलबार) अन्तिम क्वार्ट फाइनल नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ। प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ। त्यसैगरी उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।
