काठमाडाैं। सेनेगल पुनः अफ्रिका कप अफ नेसन्स (एएफकन) २०२५ को च्याम्पियन बनेको छ। खेलकुदसम्बन्धी विवादको अन्तिम सुनुवाइ गर्ने निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले मंगलबार मोरक्कोलाई विजेता घोषणा गर्ने अफ्रिकी फुटबल महासंघ (काफ) को निर्णय उल्टाएपछि सेनेगलले उपाधि फिर्ता पाएको हो।
गत जनवरीमा मोरक्कोमा भएको फाइनलमा सेनेगलले आयोजक मोरक्कोलाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो। तर खेलको अन्तिम समयमा मोरक्कोले पेनाल्टी पाएपछि त्यसको विरोधमा सेनेगलका खेलाडी मैदान छाडेर बाहिरिएका थिए। करिब १४ मिनेटपछि खेल पुनः सुरु भएको थियो।
खेल पुनः सुरु भएपछि मोरक्कोका ब्राहिम डियाजले पाएको पेनाल्टीमा गोल गर्न सकेनन्। अतिरिक्त समयमा पापे गुएयेले निर्णायक गोल गर्दै सेनेगललाई जित दिलाएका थिए।
तर, खेलाडीले मैदान छाडेको विषयलाई आधार बनाउँदै काफको पुनरावेदन समितिले मार्चमा सेनेगललाई पराजित घोषित गर्दै मोरक्कोलाई ३–० को जितसहित च्याम्पियन घोषणा गरेको थियो।
त्यस निर्णयविरुद्ध सेनेगलले कासमा अपिल गरेको थियो। कासले मंगलबार सेनेगलको अपिल स्वीकार गर्दै मैदानमा प्राप्त १–० को नतिजालाई पुनः मान्यता दिएको हो।
कासका अनुसार खेल पुनः सुरु गर्ने निर्णय रेफ्री जाँ-जाक न्दालाको अधिकार क्षेत्रभित्र पर्ने विषय थियो। रेफ्रीले खेल पुनः सुरु गरिसकेपछि टोलीको व्यवहारका कारण खेल स्थायी रूपमा रद्द भएको अवस्था नरहेकाले प्रतियोगिताको नियमावलीका सम्बन्धित प्रावधान लागू नहुने ठहर गरिएको छ।
यससँगै सेनेगलले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। विवादास्पद फाइनलको करिब १० महिनापछि उपाधिको आधिकारिक टुंगो लागेको हो।
