काठमाडौं । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आर्थिक संकटका कारण काभा क्लब च्याम्पियनसिप र पोखरामा आयोजित किङ्स कपमा सहभागी हुन नसकेको स्पष्ट पारेको छ। प्रतियोगितामा सहभागी हुन नसक्नुको कारण आर्थिक तथा व्यवस्थापकीय बाध्यता रहेको जनाउँदै केन्द्रले नेपाल भलिबल संघले गरेको कारबाहीमाथि पुनर्विचार गर्न माग गरेको छ।
केन्द्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा एउटै वर्ष तीनवटा ठूला प्रतियोगितामा सहभागी हुँदा खेलाडी व्यवस्थापन, तयारी, आवतजावत, आवास तथा अन्य व्यवस्थापकीय खर्च जुटाउन कठिन भएको उल्लेख छ।
केन्द्रका अनुसार सरकारी निकाय, जिल्लाका स्थानीय सरकार तथा ठूला व्यावसायिक प्रतिष्ठानबाट अपेक्षित सहयोग प्राप्त हुन सकेन। विदेशमा रहेका नेपाली तथा शुभचिन्तकको आर्थिक सहयोगकै कारण आफूहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्न सफल भएको केन्द्रको भनाइ छ।
काभा क्लब च्याम्पियनसिपमा सहभागी हुन नसकेपछि नेपाल भलिबल संघले आफूलाई १५ लाख ७ हजार रुपैयाँ जरिवाना र प्रतिबन्ध लगाएको केन्द्रले जनाएको छ। उक्त निर्णयप्रति संस्थागत प्रक्रियाको सम्मान गर्ने बताउँदै केन्द्रले आफ्नो आर्थिक अवस्था र वास्तविक बाध्यतालाई समेत ध्यानमा राखेर निष्पक्ष पुनर्विचार गर्न आग्रह गरेको छ।
‘हामीलाई आज दया होइन, न्याय चाहिएको छ। अपमान होइन, साथ चाहिएको छ। प्रतिबन्ध होइन, समस्याको समाधान चाहिएको छ,’ केन्द्रले विज्ञप्तिमा भनेको छ।
आर्थिक संकट र कारबाहीका कारण कठिन परिस्थितिमा पुगे पनि आफ्नो भलिबल यात्रा समाप्त नभएको केन्द्रले स्पष्ट पारेको छ। आगामी दिनमा आर्थिक तथा व्यवस्थापकीय पक्षलाई थप व्यवस्थित र बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
सम्बन्धित निकायबाट प्रतिबन्ध फुकुवा तथा आवश्यक प्रक्रिया पूरा भएपछि अझ सशक्त तयारीका साथ पुनः मैदानमा फर्किने केन्द्रको योजना छ।
केन्द्रले रुकुम पश्चिमको भलिबल विकास र पहिचानका लागि सहयोग गर्दै आएका विदेशमा रहेका नेपाली, खेलाडी, प्रशिक्षक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
