दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान

नेपालगन्ज, ८ मंसिर । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अघि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

नेपालगन्ज रंगशालामा भएको पुरुष तर्फको ५० मिटर ब्रेस्ट स्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन्। यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए।

त्यस्तै महिला तर्फको ४०० मिटर इन्डिभिजुएल मिड्लेमा एनआरएनकी लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन्। यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन। सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिटचरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए। तर लिलीको नाममा भने ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय राष्ट्रिय कीर्तिमान बनेको छ। हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान तोडन सफल भएकी थिइन भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पुरा गरेकी थिईन।

नेपालगन्ज स्थित पौडी पोखरीमा भएको सुरुआती दिनमा बागमती प्रदेशले सर्वाधिक ४ स्वर्ण पदक, २ रजत र ३ कास्य पदक जित्दैं अग्रता लिएको छ। एनआरएन टिमले ३ स्वर्ण र १ रजत सहित दोस्रो, आर्मी २ स्वर्ण ४ रजत र १ कास्य सहित तेस्रो स्थानमा छ। पुलिसले १ स्वर्ण २ रजत र ६ कास्य सहित चौथो, १ स्वर्ण सहित कोशी प्रदेश पाँचौं र २ रजत जितेको सुदुरपश्चिम छैठौ स्थानमा छ।

यसैगरी मंगलबार भएको खेल अन्तर्गत १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण (१७ मिनेट.४८.६१ सेकेन्ड), सुदुर पश्चिमका अर्थभ सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते। महिला ४०० मिटर ब्यक्तिगत मिडलेमा एनआरएन लिलीले स्वर्ण (५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन्।
५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण(३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत(३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड)ले कास्य पदक जिते।

५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मी डुआनाले स्वर्ण (३६.२५सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले (३७.२२ सेकेन्ड) कास्य र बागमतीकै प्रज्ना ताम्राकारले (३८.७०सेकेन्ड) कास्य पदक जितिन्। १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले (५३.०३ सेकेन्ड) स्वर्ण, पुलिसका इर्भिनले(५४.६२सेकेन्ड) रजत र आर्मीका अल्भीन महर्जनले (५४.९३सेकेन्ड) कास्य पदक हासिल गरे।

१०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण (१ मिनेट ०२.९३सेकेन्ड), आर्मीकी डुआनाले रजत (१ मिनेट ०३.०४ सेकेन्ड) र एनआरएन लिलीले कास्य पदक (१ मिनेट ०४.०१ सेकेन्ड) हासिल गरिन्। २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण (२ मिनेट २०.६५ सेकेन्ड), सुदुरपश्चिमका अर्थव सिंहले रजत (२ मिनेट २३.३० सेकेन्ड)र वागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य (२ मिनेट २८.०३ सेकेन्ड) जिते।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (२ मिनेट ३९.६४ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (२ मिनेट ४०.७२ सेकेन्ड) र बागमतीकी आर्या महर्जनले कास्य पदक (२ मिनेट ४०.७७ सेकेन्ड) जितिन्। ४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण (४ मिनेट १३.०६ सेकेन्ड), बागमतीले रजत (४ मिनेट १९.६४ सेकेन्ड) र पुलिसले कास्य (४ मिनेट २०.१५ मिनेट) जित्यो।

महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण ( २ मिनेट ०१.३० सेकेन्ड), आर्मीले रजत ( २ मिनेट ०२.६३ सेकेन्ड) र पुलिसले कास्य (२ मिनेट ०५.२६ सेकेन्ड) जित्यो।

त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण (१ मिनेट ५०.२७ सेकेन्ड), आर्मीले रजत (१ मिनेट ५१.४६ सेकेन्ड)र पुलिसले कास्य (१ मिनेट ५३.१३ सेकेन्ड) प्राप्त गरेको छ। नेपालगन्ज रंगशालामा चार दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गर्नु भएको थियो। मंगलबार पदक जित्न सफल खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको