काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।
बुधबार वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो।
आर्मीको जितमा भरत खवास र लाकेन लिम्बुले समान एक गोल गरे। एक गोल भने लुम्बिनीका विकास लिम्बुबाट आत्मघाती गोलका रूपमा प्राप्त भयो।
खेलको २३औँ मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। ५२औँ मिनेटमा लाकेन लिम्बुले गोल थप्दै आर्मीको अग्रता दोब्बर बनाए।
त्यसपछि ६४औँ मिनेटमा लुम्बिनीका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मीले ३–० को अग्रता बनायो।
बाँकी समयमा थप गोल हुन नसक्दा आर्मी ३–० को जितसहित तीन अंक जोड्न सफल भयो।
