काठमाडाैँ। श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे।
पहिलो दिन ९५ खेल हुनु पर्नेमा वर्षाका कारण ६२ खेल मात्र सम्भव भए। यससँगै आइतबार सम्पन्न हुनु पर्ने प्रतियोगिता सोमबारसम्म लम्बिएको छ। पहिलो दिन सिनियर गल्र्समा निम्स विजेता र चेल्सी वल्र्ड स्कुल उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
सिनियर ब्वाइजमा टीआईए, विल्सन एकेडेमी, प्राण्जली, स्काइलार्क, हिमालय, ग्रिनल्यान्ड, रिलायन्स, स्किब्स, एन्जल्स हार्ट र नेपाल पुलिस स्कुल ‘ए’ ले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
जुनियर ब्वाइजमा ओडिसी इन्टरनेसनल एकेडेमी, पिपुल्स एकेडेमी, एन्जल्स हार्ट, युनिक नेपाल, नेपाल पुलिस, ज्ञान निकेतन, गोल्डेनपिक, लालीगुराँस नेसनल एकेडेमी र गेटवे एकेडेमीले प्रिक्वाटरफाइनल यात्रा तय गरे।
धापासीस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, सिनियर गल्र्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिम सहभागी छन्।


