काठमाडौं । थाइल्यान्डसँगको २ मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरिएको छ ।
मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकु लगायतले खेलाडी तथा प्रशिक्षक टोलीलाई बिदाई गरे ।
नेपाली टोली मंगलबारै त्यसतर्फ प्रस्थान गर्नेछ । यस्तै फ्रान्स र यूएईमा क्लब फुटबल खेलिरहेका साबित्रा भण्डारी (साम्बा) र रेखा पौडेल उतैबाट थाइल्यान्ड पुगेर नेपाली टोलीमा समावेश हुने एन्फाले जनाएको छ ।
एसियन कप छनौटअघि नेपालले यसको तयारी स्वरुप थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । थाइल्यान्डमै हुने पहिलो मैत्रीपूर्ण खेल मे ३० र दोश्रो खेल जुन २ मा हुनेछ।
त्यसपछि नेपालले एसियन कप छनौट खेल्ने छ । नेपाल एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको छ।
यस समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका रहेका छन् । यस समूहको छनौट खेल उज्वेकिस्तानमा हुनेछ भने नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्ने छ ।
नेपालले दोश्रो खेल जुलाई २ मा श्रीलंका र तेश्रो खेल जुलाई ५ मा घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने छ। छनौटछि शीर्ष स्थानमा रहने टोली २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा छनौट हुनेछ ।
नेपाली टोलीः
गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरसती हमाल, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल
