काठमाडौं । हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१-७० ले हराएर एक खेल अघि नै फाइनलमा स्थान सुरक्षित गर्यो। ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएपनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ । लिगमा गोल्डेनेगटले हाउण्ड्स विरुद्धको दुवै खेल जित्न सफल भयो। यसअघि गोल्डेनेटले हाउण्ड्सलाई ८०-७५ ले पराजित गरेको थियो।
दोस्रो हार व्यहोरेको हाउण्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ। अब हाउण्ड्सले लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबलसँग खेल्नेछ। फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्नेछ । यही टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ र यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ।
कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउण्ड्सले १८-१७ को अग्रता लिएको थियो। तर त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमा गर्दै अग्रता लिएको थियो। गोल्डेनगेटले दोस्रो क्वाटर २७-१५ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ४४-३३ को अग्रता बनायो।
यस्तै तेस्रो क्वाटरमा हाउण्ड्स खेलमा फर्कियो र १८-१४ ले आफ्नो पक्षमा पार्यो। तर चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८-५१ को अग्रता कायम राखेको थियो। चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३-१९ को अग्रता बनाएपछि खेल जित्यो।
गोल्डेनगेटका लागि अभिषेक सिंहले २२ अंक स्कोर गरे। यस्तै हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक जोडे। गोल्डेनगेटका सुदिप पौडेल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।
