काठमाडौं। लालीगुराँस नेसनल एकेडेमीले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक विजेता आफ्नो विद्यालयका खेलाडीलाई सम्मान गरेको छ।
सामाखुसीमा शनिबार आयोजित कार्यक्रममा लालीगुराँसले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका अवसरमा ११ खेलाडी र तीन प्रशिक्षकलाई सम्मान गरेको हो।
उनीहरूलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन र लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले सम्मान गरेका थिए। एथलेटिक्सका खेलाडीहरू अनिषा थारु, दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, नीरज शाह, दीपेन्द्र गिरी, शर्मिला विक र शैलेष श्रेष्ठ तथा उसुकी खेलाडी अनु मोक्तानलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सोही अवसरमा एथलेटिक्सका प्रशिक्षकद्वय सीताराम चौधरी र देवी बस्नेत तथा उसुका प्रशिक्षक सुवास मगर पनि सम्मानित भए। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत जेठ ३० गतेसम्म रनिङ शिल्डमा लालीगुराँसले एथलेटिक्समा १० स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जितेको थियो। साथै उसुमा पनि लालीगुराँसले एक स्वर्ण पदक जितेको थियो।
यस क्रममा लालीगुराँस एकेडेमीमा अध्ययनरत खेलाडीहरूले ६ वटा राष्ट्रिय कीर्तिमान पनि रचेका थिए। अनिषा थारुले लङजम्प, ट्रिपलजम्प, चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा गरी चार स्वर्ण र एक रजत पदक जितेकी थिइन्। यस क्रममा उनले ट्रपल जम्प र दुई वटा रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
दिना गोपालीले एक सय र दुई सय मिटर दौडका साथै चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेी थिइन्। भगवती खड्काले पनि दुई विधाको रिलेमा स्वर्ण तथा आठ सय र १५ सय मिटर दौडमा रजत पदक जितिन्। अस्मिता भुजेलले चार गुणा चार सय रिलेमा स्वर्ण र तीन हजार मिटर दौडमा रजत पदक जितेकी थिइन्। हाइजम्पमा अविनाश सुनारले रजत र ट्रिपल जम्पमा कांस्य पदक जिते।
सन्तबहादुर र नीरज शाहले चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेका थिए। दीपेन्द्रले ट्रिपलजम्पमा कांस्य र शर्मिला विकले प्रदेशस्तरीय तीन हजार मिटर दौडमा रजत पदक जितेका थिए। अनु मोक्तानले उसु ४८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्।


