काठमाडाैँ। नेपालले एएफसी महिला एसिया कप छनाेटकाे दाेस्राे खेलमा पनि फराकिलाे जित हासिल गरेकाे छ।
समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा बुधबार सम्पन्न खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेकाे हाे।
नेपालकाे जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल गरे।
यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले समूह चरणकाे अन्तिम खेलमा आगामी शनिबार घरेलु टाेली उज्वेकिस्तानको सामना गर्नेछ।


