काठमाडौं । विभागीय प्रतिद्धन्द्धी एपिएफ फुटबल क्लबलाई ३–१ ले हराउँदै नेपाल पुलिस क्लब जारी एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले एपिएफमाथि पुनरागमन जित हासिल गरेको हो।
पुलिसलाई जित दिलाउन नवीन गौतम, समीर कुमार र राजु दर्जीले समान एक गोल गरे। एपिएफले पुजन ढकालको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
याे जितसँगै पुलिस तीन खेलमा स्पष्ट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलमा एपिएफको यो दोस्रो हार हो।
यसअघि दिनको पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडलाई ९–० ले हरायोकाे थियाे भने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबमाथि ३–१ को जित दर्ता गर्यो।
फ्रेन्ड्सलाई जित दिलाउन मन्दीप ढुंगेलले दुई गोल गरे। त्यस्तै प्रभात बिसीको नाममा एक गोल रह्यो। संकटाका लागि पेम्बा तामाङले गरेको गोल सान्त्वना बन्न पुग्यो।
हारसँगै संकटाले पछिल्ला दुई खेलबाट ६ अंक जोडेको छ। फ्रेन्ड्स क्लबको यो दोस्रो जित हो।


