सिमरन र सागरिकालाई ३ खेलको प्रतिबन्धसहित ५ सय डलर जरिवाना


काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण दुवै टिमका खेलाडीहरूलाई कारबाही गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालकी सिमरन राई र बंगलादेशकी सागरिकालाई तीन खेलका लागि निलम्बन गरेको हो। साथै यी दुई खेलाडीलाई ५०० अमेरिकी डलर जरिवाना पनि गरेको छ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३–२ को जित हात पारेको थियो। तर, खेलको ५५औं मिनेटमा सिमरन र सागरिकाबीच विवाद भएको थियो।

मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।

सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगिता आयोगले प्रतिबन्धलाई तीन खेलमा बढाएको हो।

यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुन: एक साथ मैदानमा देखिने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको