प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने


काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्।

एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको विभागीय टोली एपिएफ क्लबका एक पदाधिकारीले बताएका हुन्। उनी हालसम्म एपिएफ क्लबमा आबद्ध थिइन्।

एक पदाधिकारीले भने,‘हो, पक्का भइसकेको छ। सबै कुरा क्लबले पछि सार्वजनिक गर्छ।’

एपिएफ क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार उनले शुक्रबार जोर्डन जान राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनुमति लिएकी थिइन्।

इत्तिहात क्लब जोर्डनको अम्मानमा अवस्थित छ। यो क्लबले जोर्डम महिला प्रो लिग खेल्दै आएको छ। यो ७ वर्षअघि (सन् २०१८ मा) मात्रै स्थापना भएको क्लब हो। क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छन्।

यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। यो क्लबले गत वर्षपछि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो।

समूह ‘बी’ मा भारतको ओडिशा फुटबल क्बल र सिंगापुरको लायन सिटी रहेको समूहमा इत्तिहादले एक खेल मात्रै जितेको थियो। समूह चरणको पहिलो खेलमा इत्तिहादले लायनलाई ५–० ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा ओडिशासँग २–१ ले पराजित भयो।

यसपटक यो क्लब समूह ‘सी’ छ। यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन्।

यो समूहको खेल मलेसियामा हुनेछ। इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको