काठमाडौं। काभा पुरुष क्लब भलिबल च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकस्तानको क्लब जेटएचकेक्लबलाई पाँचौँ सेटमा हराउँदै विजयी यात्रामा फर्किएको छ।
माल्दिभ्सको मालेमा सोमबार सम्पन्न खेलमा हेल्प नेपाल ३-२ सेटमा विजयी भयो।
पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछि लगातार दुई सेट १८-२५ र २३-२५ ले पराजित भयो। तर, चौथो सेटमा २५-१८ ले विजयी हुँदै खेल पाँचौँ सेटमा पर्याउन सफल भयो।
पाँचौं सेटमा हेल्प नेपाल १५-११ ले विजयी भयो। जारी प्रतियोगितामा चौथो खेलमा तेस्रो जित हासिल गर्न सफल भएकाे छ।
यसअघि पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको थियो। दोस्रो खेलमा शुक्रवार माल्दिभ्सकै क्लब एचडिसीलाई ३-१ ले हराएको हो।
च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरि ६ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ। च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।


