काठमाडाैँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखेका छन्।
त्रिपुरेश्वरस्थित स्तरोन्नती गरिएको राखेपको कभर्डहलमा खेलाइएको मैत्रीपूर्ण खेल अघि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न यस्ता प्रतियोगिताको आवश्यकता रहेको बताए।
सदस्य–सचिव घिसिङले विशेषगरी नेपाली महिला भलिबल टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताअघि एक्सपोजर गेमको आवश्यकता रहेकोमा जोड दिए। उनले भने– ‘नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न र दर्शकहरूलाई नयाँ उत्साह दिन पनि यस्ता म्याचहरू आयोजना गर्नुपर्छ।’ उनले नेपाल भलिबल संघ र प्रशिक्षकहरूलाई यसका लागि तत्काल योजना बनाउन आग्रह गरे।
सदस्य–सचिव घिसिङले खेलाडीको सामाजिक सुरक्षा, पुरस्कार र प्रोत्साहन भत्ताको व्यवस्थालाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने– ‘खेलाडीहरू खेलकुदको मुटु हुन्, र उनीहरूको हितमा हामीले काम गर्नुपर्छ।’
सदस्य–सचिव घिसिङले खेलकुद संरचनालाई थप प्रभावकारी बनाउन र पुराना समस्याहरू समाधान गर्न योजनाबद्ध रूपमा काम गर्ने बताए। उनले नेपालमा खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता जनाए।