पौडीमा जेम्स च्याम्पियन


काठमाडाैँ। ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ।

मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएको प्रतियोगितामा ३३ अंकसाथ जेम्स टिम च्याम्पियन बन्यो। ललितपुरकै लिटिल एन्जल्स स्कुल दोस्रो भयो।

लिटिल एन्जल्सले समान ३३ अंक नै जोडे पनि स्वर्ण संख्याको आधारमा जेम्स पहिलो हुन सफल भयो। जेम्सले चार र लिटिल एन्जल्सले तीन स्वर्ण जितेको थिए। तेस्रो स्थानमा पनि ललितपुरकै प्रिमियर इन्टरनेसनल आइबी वल्र्ड स्कुलले सफलता पायो। प्रिमियरले कुल २६ अंक बटुल्यो।

सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए। चौथो डेएभी स्कुल, पाँचौं अक्षरा स्कुल र छैटौँ ह्वाइटफिल्ड स्कुल भए। प्रतियोगितामा सहभागी सबैभन्दा कान्छी खेलाडी चार वर्षीय विधि नेपालले राइजिङ स्टारको ट्रफी हात पारिन्।

प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी र टुसाल मल्टि भेन्युका अपरेसन प्रवन्धक विशाल खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन्।

तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो। प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ विद्यालयबाट १ सय ७६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेको टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक केसीले जानकारी दिए। कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको