काठमाडौं। कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ब्राजिलले कीर्तिमानी नवौं पटक महिलाको कोपा अमेरिकाकाे उपाधि जितेको छ।
ब्राजिललाई च्याम्पियन बनाउन ६ पटक विश्वकी सर्वोत्कृष्ट खेलाडी घोषित भइसकेकी मार्टाले बेन्चबाट मैदान प्रवेश गरेर दुई गोल गरिन्। उनले इन्जुरी समयको छैठौं मिनेटमा बराबरी गोल गरेर खेललाई ३–३ बनाइन् भने अतिरिक्त समयमा अर्को गोल गर्दै ब्राजिललाई अग्रता दिलाइन्।
तर, ११५औं मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४–४ बनाइन् र फाइनललाई पेनाल्टी सुटआउटमा पुर्याइन्।
पेनाल्टी सुटआउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाउँदै आफ्नो टिमलाई लगातार पाँचौं तथा कुल नवौं कोपा अमेरिका महिला उपाधि दिलाइन्। यो पाँच फाइनलमा चौथो पटक ब्राजिलले कोलम्बियालाई हराएको हो।
त्यसअघि कोलम्बियाका लागि लिण्डा कैसिडोले २५औं मिनेटमा, मायरा रामिरेजले ८८औं मिनेटमा र सान्टोसले ११५औं मिनेटमा गोल गरिन्।
ब्राजिलकी डिफेन्डर टार्सियानेको आत्मघाती गोलले पनि कोलम्बियालाई अग्रता दिलाएको थियो। कोलम्बियाले तीन पटक अग्रता लिएको यो खेल अन्ततः ब्राजिलको जितमा टुंगिएको हो।
ब्राजिलले अहिलेसम्म आयोजना भएका ९ मध्ये ८ पटक कोपा अमेरिका महिला उपाधि जितिसकेको छ र दक्षिण अमेरिकाको सबैभन्दा बलियो महिला टोली मानिन्छ।


