काठमाडौं। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न एन्फा यु–१६ युथ लिगअन्तर्गत तीन खेलमा विभागीय टोलीद्वय एपिएफ फुटबल क्लब तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब विजयी भएका छन्।
दिनको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ३–० को सहज जित दर्ता गर्दै एपिएफ अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। एपिएफको जितमा आदर्श मेचेले दुई र विपिन छन्त्यालले एक गोल गरे।
खेलको १४औं र ३७औं मिनेटमा आदर्शले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अन्त्यतिर ८५औं मिनेटमा विपिनले तेस्रो गोल थपे। प्लानिङ ब्वाइजका लिलाराज पोखरेलले दोहोरो पहेंलो कार्ड पाउँदै ७८औं मिनेटमा मैदान छाडेपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
दोस्रो खेलमा शीर्ष स्थानमा रहेको पुलिसले त्रिभुवनलाई ३–१ ले हराउँदै आफ्नो अग्रता अझ सुदृढ बनायो। पुलिसका लागि समीर कुमारले खेलको २१औं मिनेटमा पहिलो गोल गरे।
३०औं मिनेटमा वीरविक्रम शाहले अग्रता दोब्बर बनाए। आर्मीका जोयल गुरुङले ७६औं मिनेटमा एक गोल फर्काए पनि एक मिनेटमै वीरविक्रमको गोलले पुलिसलाई ३–१ को जित दिलायो। ११ खेलमा २८ अंक जोडेको पुलिस शीर्ष स्थानमा यथावत छ।
दिनको तेस्रो तथा अन्तिम खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। मनाङका लागि दुवै गोल धरविन्द्र बोहराले गरे। उनले खेलको ३१औं र ८५औं मिनेटमा गोल गर्दै टोलीलाई जिततर्फ डोर्याए।
इन्जुरी समयमा फ्रेन्ड्सका रिक्जिन शेर्पाले एक गोल फर्काए तापनि त्यो पर्याप्त बन्न सकेन। यो जितसँगै मनाङले ११ खेलमा २४ अंक जोडेको छ। पराजित फ्रेन्ड्स २२ अंकका साथ चौथो स्थानमा झरेको छ।


