काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान सुधार गरेको छ।
विश्व फुटबलकाे सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो।
यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो।
नेपालले गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपालले त्यतिखेर वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो।
निर्णायक खेलको निर्धारित समयमा वरीयतामा आफूभन्दा ४९औं स्थान माथि रहेको उज्बेकिस्तानलाई ३–३ को बराबरीमा रोकेको थियो। तर, समान अंक र गोलअन्तर भएपछि अस्ट्रेलिया जाने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।
तर, नेपाल ४–२ ले पराजित भयो। नेपालसँग खेलेको उज्बेकिस्तानको वरीयता एक स्थान तल खस्किएको छ।


